‘विकास आयोजना पुरा नगर्ने कम्पनीलाई उन्मूक्ति दिनुहुँदैन’
बैठकमा सांसद रवि लामिछानेले निरन्तर अनुगमन गर्दा पनि विकासका आयोजनाहरु सम्पन्न हुन नसक्ने अवस्थालाई अन्त्य गर्न कडा कानून बनाउनुपर्ने बताए।
काठमाडौं, माघ १७ : सांसदहरुले समयमा नै विकास आयोजनाहरू पुरा नगर्ने कम्पनीहरुलाई दण्ड सजायबाट उन्मुक्ति दिन नसकिने गरि कानून निर्माण हुनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा विभिन्न कारणले बिकासे आयोजनालाई अलपत्र पार्ने कम्पनीहरु दण्ड सजायबाट उन्मुक्ति पाइरहेको भन्दै अवको कानूनमा कडा प्रावधान राख्नुपर्ने सुझाव दिएका हुन्।
त्यस्तै सांसदहरुले समग्र विकास आयोजनाहरूको अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउन छुट्टै आयोग गर्न पनि सुझाव दिएका छन्।
बैठकमा सांसद रवि लामिछानेले निरन्तर अनुगमन गर्दा पनि विकासका आयोजनाहरु सम्पन्न हुन नसक्ने अवस्थालाई अन्त्य गर्न कडा कानून बनाउनुपर्ने बताए।
उनले अधिकारसम्पन्न निकायले गरेको अनुगमनलाई हेरेर दण्डित वा पुरस्कृत गर्नुपर्ने उल्लेख गरे। राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएका निर्माण व्यवसायीलाई पुरस्कार दिने र थप ठेक्का दिने प्रवृति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
त्यस्तै सांसद दिलेन्द्र बडुले आयोजनाहरु छनोटको संस्थागत प्रक्रिया स्थापीत नै गर्न नसकिएकाले यसलाई सुधार गर्नुपर्ने बताए। आयोजनाहरूको छनौटको प्रभावकारीतालाई नयाँ कानूनले हेर्न सकिने व्यवस्था गर्नुपर्ने उनले बताए।
सांसद बडुले पुराना आयोजनालाई निरन्तरता नदिई नयाँ आयोजना दिने अव्यवस्थालाई कानूनद्वारा रोक्नुपर्ने बताए।
त्यस्तै सांसद पृथ्वीसुब्वा गुरुङले अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन अन्य सम्बन्धीत कानूनको पनि सुधार हुनुपर्नेमा जोड दिए।
उक्त विधेयकमाथि बिहीबार पनि छलफल हुने समिति सभापति रामहरि खतिवडाले बताए। हरेक योजनाको अनिवार्य रुपमा अनुगमन तथा मूल्यांकन गर्ने नीति अख्तियार गर्न सरकारले उक्त विधेयक ल्याएको हो।












