न्यायाधीशविरुद्धको वैवाहिक बलात्कार मुद्दामा सर्वोच्चले झिकायो मिशिल
कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले बुधबार उच्च अदालत पाटनलाई उक्त आदेश दिएको हो।
काठमाडौं, माघ १७ : सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ।
कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले बुधबार उच्च अदालत पाटनलाई उक्त आदेश दिएको हो।
रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध पत्नी आरती रावल गिरीले दायर गरेको वैवाहिक बलात्कार मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उक्त मुद्दामा उच्च अदालत पाटनबाट गिरीलाई थुनामा राख्नु नपर्ने आदेश भएको थियो।
गिरीकी पत्नीले भने थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्।
काठमाडौँ जिल्ला अदालतमा दायर भएको वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध आरती उच्च अदालत पाटनमा पुगेकी थिइन्। उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि सर्वोच्च अदालत गएकी हुन्।
न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनको माग छ। उच्चबाट मिशिल आएरपछि सर्वोच्चबाट आरोपी गिरीलाई थुनामा राख्ने वा नराख्ने बिषयको टुंगो लाग्ने छ।












