भाटभटेनीको नक्कली भ्याट बिल प्रकरणमा न्यायाधीश चुडालको फरक मत
नक्कली भ्याट बिलसँग सम्बन्धित विवादमा न्यायाधीशहरू डा.कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले मंगलबार गरेको फैसलामा एकजना न्यायाधीशको फरक राय आए पनि बहुमतका आधारमा निर्णय भएको छ।
काठमाडौं, माघ १७ : भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई कर, जरिवाना र ब्याज निर्धारणलाई लिएर सर्वोच्च अदालतको पूर्ण इजलासमा एकजना न्यायाधीशले फरक मत राखेका छन्।
फैसलाको पुनरावलोकनमा सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालले फरक मत राखेका हुन्। नक्कली भ्याट बिलसँग सम्बन्धित विवादमा न्यायाधीशहरू डा.कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले मंगलबार गरेको फैसलामा एकजना न्यायाधीशको फरक राय आए पनि बहुमतका आधारमा निर्णय भएको छ।
न्यायाधीश चुडालले यस अघि संयुक्त इजलासबाट भएको फैसला उल्ट्याएर पुनः कर निर्धारण हुनुपर्ने राय दिएको जनाइएको छ । तर न्यायाधीशद्वय ढुंगाना र ढकालले संयुक्त इजलासबाट यसअघि भएको फैसला सदर हुनुपर्ने राय दिएका कारण विवादको टुंगो लागेको छ ।
चुडालले नक्कली भ्याट बिल प्रकरणमा राजस्व प्रशासनले कर, जरिवाना निर्धारण गरेको नमिलेको, कतिपय अनुसन्धान पूरा नभएको भन्दै संयुक्त इजलासले यसअघि गरेको फैसला उल्ट्याउनुपर्ने राय दिएका छन् । यसअघ संयुक्त इजलासबाट भएको फैसलाविरुद्ध भाटभटेनी डिपार्टमेन्ट स्टोरले पुनरावलोकन निवेदन दिएको थियो।












