पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा
‘विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौं,’ उनले भनिन्।
काठमाडौं, माघ १७ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताइन्।
नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने बताइन्।
‘विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौं,’ उनले भनिन्।
उनले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन÷प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पु¥याउने दोहोरो माध्यमका रुपमा रहेको बताइन्।
आमसञ्चार क्षेत्रको पुनःसरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको मन्त्री शर्माको भनाई थियो।
उनले आमसञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताइन्।
मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृंखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण÷प्रकाशनमा जोड दिन आवश्यक रहेको बताइन्।












