‘सरकारका जनमुखी कदमले गणतन्त्रप्रति जनताको भरोसा बढेको छ’
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौं साहसिक र जनपक्षीय काम अघि बढाएको बताए।
काठमाडौं, माघ १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कदमले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन्।
नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार भएको बताए। त्यस्तो हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने उनले बताए।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौं साहसिक र जनपक्षीय काम अघि बढाएको बताए।
‘सरकारले गरेको नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यले जनतामा आशा जगाएको छ।’
सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको उनले स्पष्ट पारे। ‘दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न प्रतिबद्ध रहेको बताए।
श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे।












