सञ्चार नीति नियन्त्रण गर्न होइन, नियमन र व्यवस्थापनका लागि हो : प्रधानमन्त्री
दीर्घकालमा न्यू–मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाइने भनाई उनको छ।
काठमाडौं, माघ १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन्। उनले नयाँ सञ्चार नीति नियन्त्रणका लागि नभएर नियमन रव्यवस्थापनका लागि रहेको भनाई पनि राखेका छन्।
नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले दाहालले उक्त भनाई राखेका हुन्। दीर्घकालमा न्यू–मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाइने भनाई उनको छ।
सरकारले नवीनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जवाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्छ भनेर आग्रह गर्दै आएको समेत प्रधानमन्त्री प्रचण्डले स्मरण गरे।
‘पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि होइनन, नियमन र व्यवस्थापनका लागि हुन्,’ प्रधानमन्त्रीले भने।
कार्यक्रममा उनले आफु नियन्त्रण र निर्देशनमा नभई निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पनि बताए । लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात गरिएका विषयवस्तुहरू नेपाल टेलिभिजनमा देख्न चाहेको पनि प्रधानमन्त्री दाहालले सुनाए।
टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्था बनाउनेगरी संसदमा लगिएको विधेयकमा समायानुकूल परिमार्जनसहित पारित गर्ने तयारी गरिएको जानकारी समेत उनले दिए।
एक प्रसङ्गमा गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ। त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर र संवेदनशील हुनुपर्ने भनाई पनि राखे।












