‘मेरो अभिव्यक्ति देश र जनताप्रतिको समर्पणभावमा केन्द्रित हुन्छ’
कार्यक्रममा अध्यक्ष ओलीले आफूले सुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताउँदै आफ्ना अभिव्यक्तिमा ‘अन्कन्ट्रोल मिसाइल’ प्रहार भए पनि ठीक ठाउँमा ताकेर हान्ने गरेको बताए।
काठमाडौं, माघ १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना हरेक अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताएका छन्।
‘मैले संसद्मा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु,’ ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने।
कार्यक्रममा अध्यक्ष ओलीले आफूले सुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताउँदै आफ्ना अभिव्यक्तिमा ‘अन्कन्ट्रोल मिसाइल’ प्रहार भए पनि ठीक ठाउँमा ताकेर हान्ने गरेको बताए।
उनले आफ्ना अभिव्यक्ति कहिलेकाहीँ अनियन्त्रित हुने गरे पनि विचार प्रवाहमा भने कहीं पनि त्रुटि नभएको जिकिर गरे।
‘अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होसियारीका साथ बोल्नुपर्ने रहेछ। दाहालजी (पुरुषोत्तम)ले भनेजस्तै अनकन्ट्रोल मिसाइल हान्ने हो। त्यसपाराले बोलेँ। यसको अर्थ सावधानीको कमी हो। तर, विचारमा त्रुटि होइन,’ उनले भने, ‘मिसाइल भने ठीक ठाउँमा ताकेर हानेको छु तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहिले ५र७ वटा हानेको छु। त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला।’
लोकतन्त्रलाई नेताहरुले मागी खाने भाँडो बनाएको बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको उल्लेख गरे। उनले जनताका लागि बनेको लोकतन्त्र दुई चार जना नेताले मागी खाने भाँडो बनाए त्यो नटिक्ने बताए।












