मानवअधिकार उल्लंघनमा सुरक्षाकर्मी र सरकारी कर्मचारीदेखि नेतासम्म
आयोगमा मानवअधिकारको उल्लंघनमा दर्ता भएका ३५४ उजुरीमाथि अनुसन्धान गरी ६० जनाको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ। जसमा नेपाल प्रहरीतर्फ ३२ जना, सशस्त्र प्रहरी बलका एक जना, नेपाली सेनातर्फ ४ जना, राष्ट्रिय अनुसन्धानका एक जना, निजामती कर्मचारीतर्फ १२ जना छन्।
काठमाडौं, माघ १६ : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको नामावली सार्वजनिक गरेको छ।
आयोगले मानव अधिकार उल्लंघन गर्ने कर्मचारी, सुरक्षाकर्मीसहित ६० जनाको नाम सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको नामावली अनुसार नेपाल प्रहरीतर्फ ३२ जना, सशस्त्र प्रहरी बलका एक जना, नेपाली सेनातर्फ ४ जना, राष्ट्रिय अनुसन्धानका एक जना, निजामती कर्मचारीतर्फ १२ जना र तत्कालिन नेकपा माओवादीका १० जनाको नाम सार्वजनिक गरेको हो। नाम सार्वजनिक गर्दै आयोगले सरकारसँग कारवाहीको माग गरेको छ।
आयोगमा मानवअधिकारको उल्लंघनमा दर्ता भएका ३५४ उजुरीमाथि अनुसन्धान गरी ६० जनाको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ। २०७९/८० र चालु आर्थिक वर्षमा परेका उजुरीका आधारमा मानव अधिकार उल्लंघन गर्नेहरूको नाम सार्वजनिक गरिएको हो। आयोगलाई मानव अधिकार उल्लघंन गर्ने ६६ जनाको नाम प्राप्त भएकोमा ६ जनाको हकमा कारबाहीको जानकारी प्राप्त भएकाले नाम राखिएको छैन।
आयोगका अनुसार प्रहरीतर्फ प्रहरी उपरीक्षक (एसपी) हरू योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी, प्रहरी नायब उपरीक्षक (डिएसपी)हरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाह, प्रहरी निरीक्षकहरू गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी, कमलप्रसाद गिरी, प्रहरी सहायक निरीक्षकहरू नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र बासुदेव चौधरी छन्।
यस्तै, प्रहरी नायब निरीक्षकहरू रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह, चक्र बस्नेत र प्रहरी हवाल्दार भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी, दलबहादुर कार्की, प्रहरी जवानमा विनोद ठाकुर, टार्जन गुरूङ र निलम संग्रौलालाई पनि आयोगले मानव अधिकार उल्लघंनकर्ताको सूचीमा राखेको छ।
सशस्त्र प्रहरी बलतर्फ एसपी प्रकाश ओझाको छन्। यसैगरी नेपाली सेनातर्फ सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चव्रबहादुर कार्की, क्याप्टेन दिनेश थापाको नाम सार्वजनिक भएको छ। राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल पनि सोही सूचीमा परेका छन्।
यता, निजामति कर्मचारीतर्फ प्रजिअहरू माधवप्रसाद ओझा, शालिग्राम शर्मा पौडेल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य, शिवप्रसाद नेपाल र सहायक प्रजिअ पुरूषोत्तम अधिकारी छन्। यस्तै, कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेलको नाम पनि मानवअधिकार उल्लङघनकर्ताको सूचीमा परेको छ।
मानव अधिकार उल्लंघन गर्नेमा नेकपा (माओवादी) का खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, राम विलास यादव, हृदय यादव, प्रभु साह, एस.पी. किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहनाको नाम सार्वजनिक भएको छ। आयोगले पीडितलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन कुल २८ करोड १३ लाख एक हजार १९७ रूपैयाँ सिफारिस गरी पठाएकोमा करिब ७ करोड बराबरको रकम निकासा भएको समेत जनाएको छ। आयोगका आयोग स्थापनादेखि हालसम्म मानव अधिकार उल्लंघन दुरूत्साहनमा दोषी पहिचान भएका व्यक्तिहरूको संख्या ३५८ जना पुगेको आयोगले जनाएको छ।












