सहिदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख घिमिरे
शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताएका छन्।
काठमाडौं, माघ १६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताएका छन्।
राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर शहीदहरु दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका शहीदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने जनाए।
'विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने शहीदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ,' उनको सन्देशमा भनिएको छ।












