‘आज शहीदहरूका सपना पूरा गर्न संकल्प गर्ने दिन हो’
शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।
काठमाडौं, माघ १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरुले गरेका अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन्।
‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ,’ शहीद स्मारक लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।’
शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।
उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायतका शहीदको स्मरण गरे।
सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले दाहालले घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गरे।
प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउँदै आइएको छ।












