एनसेलको सेयर खरिद–बिक्री अध्ययन समितिले बुझायो प्रतिवेदन
छानविन समितिले यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब सरकारलाई दिएको छ।
काठमाडौं, माघ १५ : एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संयोजक टंकमणि शर्माले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्।
छानविन समितिले यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब सरकारलाई दिएको छ।
खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको देखिएकाले सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न नहुने सुझाव समितिले सरकारलाई दिएको छ।
सरकारले एनसेलको सेयर खरिदबिक्री विवादको छानविन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव ह्दयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।












