प्रशासकीय अधिकृतसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा
गलत प्रतिवेदन तयार पारी रकम भुक्तानीमा मुछिएका हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्ललाई पनि प्रतिबादी कायम गरिएको छ।
काठमाडौं, माघ १५ : झुट्ठा प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगसहित मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित दशजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
छायानाथ रारा नगरपालिकाको वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वाय, हार्ड रक कटिङ गर्नुपर्ने भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्न भएको भन्दै झुट्टा प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार चार सय ५९ रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
गलत प्रतिवेदन तयार पारी रकम भुक्तानीमा मुछिएका हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्ललाई पनि प्रतिबादी कायम गरिएको छ।
यस्तै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र इन्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको अख्तियारको अनुसन्धानबाट देखिएको छ।
उनीहरुलाई पनि सजायको मागदाबी छ। सोही नगरपालिकाको वडा नं. ८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीले सम्झौता अनुसार कार्य सम्पन्न भएको भन्दै गलत सिफारिस दिएको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा जरिवानाको मागदाबी लिई आरोपपत्र दायर भएको हो।












