प्रधानसेनापति खुला म्याराथन फाल्गुन १९ मा
नेपाली सेनाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २६१औं सेना दिवसको अवसरमा नर्वौ संस्करणको प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन आयोजना गरिएको जनाएको हो।काठमाडाैं, माघ १५ : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता २०८० आगामी फाल्गुन १९ गते आयोजना हुने भएको छ।
नेपाली सेनाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २६१औं सेना दिवसको अवसरमा नर्वौ संस्करणको प्रधानसेनापति खुल्ला म्याराथन तथा रन फर फन आयोजना गरिएको जनाएको हो।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा नेपाली सेनाले आयोजना गर्ने प्रतियोगितामा पाँच स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ४२.१९५ किलोमिटरको म्याराथन, २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथनमा प्रमुख अतिथी र आमन्त्रित उच्चपदस्थ व्यक्तिहरुले सहभागीता जनाउने छन्।
त्यस्तै ५ किलोमिटर दौडमा उपत्यकाभित्र कक्षा ७ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने सेनाले जनाएको छ। ४२.१९५ किलोमिटर म्याराथनमा पुरुषको मात्र सहभागिता हुनेछ। यसविजेताले तीन लाख रुपैयाँ नगदसहित एकथान मोटरसाइकल पुरस्कार जित्नेछन्।
दोस्रो हुनेले दुई लाख र एकथान मोटरसाइकल पुरस्कार पाउनेछन्। तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। त्यस्तै, हाफ म्याराथनमा भने विजेता महिला र पुरुष दुवैले ७५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। पत्रकार सम्मेलनमा सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्रका महासेनानी प्रमोद कुमार थापाले यसपटक फुल र हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने जानकारी दिए।
सेनाका अनुसार १० किलोमिटर दौडमा महिला र पुरुष सैनिक अधिकृत र सहचारीहरूहरूको सहभागिता हुनेछ। अन्य विधाका दौडका विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्ने सेनाले जनाएको छ।