Kathmandu Press

सहिद श्रेष्ठ र चन्दको सम्झनामा स्मृतिसभा

काठमाडौँ महानगरपालिकाले आज सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृतिसभा गरी उनीहरुलाई स्मरण गरेको हो।
सहिद श्रेष्ठ र चन्दको सम्झनामा स्मृतिसभा

काठमाडौं, माघ १५ : सहिद सप्ताहअन्तर्गत आज छैटौँ दिन सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।  

काठमाडौँ महानगरपालिकाले आज सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृतिसभा गरी उनीहरुलाई स्मरण गरेको हो।

स्मृति सभामा कामपाका उपप्रमुख सुनिता डङ्गोलले सहिदहरुको योगदानको गाथा पुस्तान्तरण गर्नुपर्ने धारणा राखिन्। 'आज हामीलाई स्वतन्त्र बनाउन उहाँहरुले दिनुभएको प्राणको आहूति नयाँ पुस्तालाई बुझाउनुपर्छ', उनले भनिन्। 

Hardik ivf

'आमनागरिकको स्वतन्त्रताका लागि सम्पूर्ण सहिदहरुले गर्नुभएको त्यागबाट प्राप्त उपलब्धिहरु हामीले कसरी पाएका छौँ। यस्ता कुरा हामी जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ,' कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भने। 

हुकुमी शासनको विरुद्धमा काम गरेको, जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा विसं १९९७ माघ १५ गते दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो। तत्कालिन समयमा एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो। ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि हार नमानेपछि ज्यान जाने गरी गोली हानेर मृत्युदण्ड दिइएको थियो।

बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा माहात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो। रामेछापको भङ्गेरीमा जन्मिनुभएका गङ्गालाल श्रेष्ठले त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा सहभागिता जनाएका थिए। 

श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकद र पूर्ण कदका सालिक राखिएका छन्। तत्कालीन काठमाडौँ नगर पञ्चायतले २०३६ माघ १५ गते शिलान्यास गरेर २०३७ माघ १७ गते उक्त स्तम्भ अनावरण गरेको थियो। 

कामपाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका सालिक राखेको छ। राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि एक सय चार वर्षको हुकुमी शासन र तत्कालिन शासकलाई चुनौती दिँदै उहाँहरुले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चिरस्मरणमा राख्न र पुस्तालाई इतिहासका बारेमा जानकारी दिइराख्न कामपाले सदाहत प्राप्त गरेको स्थानमा सालिक बनाएर संरक्षण गरिरहेको छ।  

माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै स्मृतिसभा सम्पन्न भइसकेको छ। 

सहिद सप्ताहको अन्तिम दिन भोलि बिहान ८ बजे रत्नपार्क शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ भने ९ बजे सहिद स्मारक लैनचौर स्मृतिसभा हुनेछ। सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सहभागी हुने कार्यक्रम छ। 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्