सरकारी संचारमाध्यमले सरकारको ‘जजमान’ मात्र गरिरहे अस्तित्व संकटमा : पौडेल
‘सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा पर्ने छ। सरकारको जजमानबाट मुक्त गरी सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्छ’
काठमाडौं, माघ १५ : कांग्रेस नेता एवम् सांसद प्रदीप पौडेलले सरकारी संचारमाध्यमले सरकारको जजमान मात्र गर्न छाड्नुपर्ने बताएका छन्। नत्र सरकारी मिडियाको अस्तित्वमै संकट पर्ने भनाई समेत पौडेलले राखेका छन्।
‘सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा पर्ने छ। सरकारको जजमानबाट मुक्त गरी सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्छ,’ सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै सांसद पौडेलले भने। विधेयक वर्तमान आवश्यकता अनुसार नआएको टिप्पणी समेत उनले गरे।
पौडेलले भने, ‘डिजिटलाइजेसनको कुरा नसमेटेर परम्परागत विषय मात्र समेटेको देखियो। यो विधेयक पुनर्लेखन गरौं।’ उनले विधेयकले परम्परागत मिडियालाई मात्र अघि बढाएको पनि बताए। विधेयकले डिजिटल मिडियालाई समेट्न नसकेको भनाई पौडेलको छ।












