‘भिजिट भिसा’ मिलेमतो प्रकरण : २२ जनाविरुद्ध सजाय माग गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष
सेटिङ मिलाएर भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेललगाएतको अनुसन्धान सकेर कारबाहीका लागि सरकारी वकील समक्ष प्रतिवेदन पेश भएको हो।
काठमाडौं, माघ १५ : ‘भिजिट भिसा’ को आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको प्रहरी अनुसन्धान पूरा भएको छ।
अनुसन्धान सकेर काठमाडौं प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सेटिङ मिलाएर भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेललगाएतको अनुसन्धान सकेर कारबाहीका लागि सरकारी वकील समक्ष प्रतिवेदन पेश भएको हो।
प्रहरी प्रतिवेदन अनुरुप पक्राउ परेका १० जना र फरार १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय माग गरिएको छ। कारवाहीको माग गरिनेमा तीन जना बिचौलिया समेत छन् ।
अनुसन्धानका क्रममा बयान लिइएका व्यक्तिबाट अन्य अधिकृतको समेत मिलेमतो खुलेको जनाइएको छ। विमानस्थलमा कार्यरत अधिकृतले भिजिट भिसामा विदेश पठाउनका लागि प्रतिव्यक्ति ४४ देखि ५५ हजार रुपियाँसम्म लिने गरेको दाबी प्रहरीको छ।
विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको जानकारीका आधारमा गत असोज १७ गतेदेखि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सरकारी वकीलले प्रतिवेदन रुजु गरेर अदालतमा मुद्दा लैजाने तयारीमा रहेको जनाइएको छ।












