Kathmandu Press

अदालतबाट फरार थुनुवाको हत्कडी खोल्ने तीनजनाविरुद्ध मुद्दा 

अदालत उपस्थित गराइएका थुनुवा कमल खड्का थुनछेक बहस सकिएलगत्तै प्रहरीलाई छलेर हत्कडीसहित फरार भएका थिए।
अदालतबाट फरार थुनुवाको हत्कडी खोल्ने तीनजनाविरुद्ध मुद्दा 

काठमाडौं, माघ १५ : अदालतबाट फरार भएका थुनुवाको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ। गत पुस १८ गते काठमाडौं अदालतबाट फरार ठगी मुद्दाका अभियुक्त कमल खड्काको हत्कडी खोलेर थुनुवा लुकाइएको अभियोग उनीहरुविरुद्ध लगाइएको छ। 

हत्कडीसहित फरार भएका खड्का पुस १९ गते पक्राउ परेका थिए। प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भएका ३२ वर्षीय खड्कासँगै बाह्रबिसे–३ का १८ वर्षीय पारस तामाङ, बाह्रबिसे–४ का २५ वर्षीय मोहनबहादुर तामाङ र बाह्रबिसे–५ का १९ वर्षीय रोनिष तामाङविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुमाथि थुनुवा भाग्नभगाउन नहुने कसुरमा सजायको माग छ। 

Hardik ivf

अदालत उपस्थित गराइएका थुनुवा कमल खड्का थुनछेक बहस सकिएलगत्तै प्रहरीलाई छलेर हत्कडीसहित फरार भएका थिए। खड्काविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १०१ को थुनाबाट भाग्न नहुने अन्तगर्तको कसुरमा र अन्य ३ जनाको हकमा संहिताको दफा १०२ अन्तर्गतको थुनाबाट भगाउन नहुने अन्तगर्तको कसुरमा मुद्दा दायर गरिएको हो।

खड्का यसअघि प्रकाश बुढाथोकीको जाहेरीले २०७८ फागुन २२ गते डाँका मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाइएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनी पटके कसुरदार भएकाले खड्काविरुद्ध थप सजाय समेत मागदाबी गरिएको छ। 
 

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्