Kathmandu Press

‘मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ’

उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।
‘मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ’

काठमाडौं, माघ १४ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताएकी छिन्।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौंमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताइन्।

Hardik ivf

नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गर्दै उनले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारूकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन्।

दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्च बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताइन्।

केही महिनाअघि आफूले चीनको स्वायत्त क्षेत्र सिजाङमा आयोजित ट्रान्स हिमालय फोरममा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेको स्मरण गर्दै उनले नेपालको आर्थिक समृद्धि र विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको दोहोर्‍याइन्।

भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा आधुनिकीकरण, नेपालको उत्पादन निर्यातजस्ता विषयमा छिमेकीको सहयोग अत्यावश्यक हुने उनको भनाइ थियो।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदूत छन सोङलगायतले नेपाल–चीन सम्बन्धका विविध आयामबारे धारणा राखिन्।

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्