७१औं विश्व कुष्ठरोग दिवस मनाइँदै
‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो।
काठमाडौं, माघ १४ : आज विश्व कुष्ठरोग दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो।
यसवर्षको नाराले कुष्ठ प्रभावित व्यक्तिको स्मरण गर्दै रोगबारे चेतना जगाउने, कुष्ठरोगसँग सम्बन्धित लाञ्छना एवं भेद्भावको अन्त्य गर्न र मर्यादित व्यवहार गर्न ध्यानाकर्षण गराउने रहेको छ। दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए।
'अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित छन्। कुष्ठप्रभावित व्यक्तिले लाञ्छना, भेद्भाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन्। यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको तत्काल पहल र प्रतिबद्धताको आवश्यकता छ', डा मरासिनीले भने।
विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलेरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने तथा कुष्ठरोग प्रभावितप्रतिको भेद्भावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि थालनी गरिएको हो। कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापितका अनुसार कुष्ठरोग माइकोब्याक्टेरियम ‘लेप्रे’ नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो।
'यो रोग मानिसबाट मानिसमा सर्छ। उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। उपचार गरे पूर्णरुपमा यो रोग निको हुन्छ', डा नापितले भने, 'सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन साथै कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गता हुँदैन। त्यसैले समूदायमा रोग सङ्क्रमण हुन नदिन रोगका लक्षण र चिन्ह देखिनसाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी रोग निदान भएमा पूर्ण रुपमा उपचार गर्नुपर्दछ।'
नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण (प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम बिरामी) भएको घोषणा गरेको थियो। उक्त समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर शून्य दशमलव ७७ प्रतिशत थियो। कुष्ठरोग नियन्त्रण शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म शून्य दशमलव ८५ रहेको छ भने १४ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा धेरै बिरामी छ। निवारणको घोषणा पश्चात् हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्थामा कायम रहेको छ।
शाखाको तथ्याङ्क अनुसार हरेक वर्ष नेपालमा दुई हजार पाँच सयदेखि तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गर्दछ। कुष्ठरोग नियन्त्रणका लागि सरकारले सक्रिय बिरामीको खोज पड्ताल, कुष्ठरोग रोकथाम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि, असमर्थक व्यवस्थापन तथा पुनः स्थापन र बहु औषधिको व्यवस्थापनको कार्यक्रम सञ्चालन गरिरहेको छ।
विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस
यस्तै, आजै विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस समेत मनाइँदैछ। ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नारासहित यो दिवस मनाइदैछ। उष्णप्रदेशीय र समसितोष्णप्रदेशीय क्षेत्र वा देशमा डेङ्गी, चिकेनगुनिया, रेबिज, ट्रकोमा, बुरुली अल्सर, यज, कुष्ठरोग, चागस रोग, सर्पदंश, फित्तेजुका र न्यूरोसिस्टाइसर्कोसिस, लुतो, हात्तीपाईलेसहित विभिन्न १२ प्रकारका रोग यस अन्तर्गत पर्दछन्। नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ भने कालाजार सन् २०१६ र हात्तीपाईले, कुष्ठरोग र रेविजलाई सन् २०२३ भित्र निवारण गरिसक्ने लक्ष्य लिएको छ।












