राष्ट्रियसभा निर्वाचनमा कोशीको भोट क्रसले गठबन्धनमा कुनै असर पर्दैन : अध्यक्ष नेपाल
सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको भन्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता रहेको बताए।
काठमाडाैं, पुस १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर राजनीतिक अस्थिरता र सामाजिक सद्भाव खल्बल्याउने काम भइरहेको बताएका छन्।
आइतबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय परिषद्को दोश्रो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले संघीयता, धर्मनिरपेक्षता मान्ने र विरोध गर्ने राजनीतिक शक्तिहरु मुलुकमा रहेको र उनीहरुबीचको टवरावका कारण राजनीतिक अस्थिरता र सामाजिक सद्भाव खल्वलाउने काम भइरहेको बताएका हुन्।
उनले प्रतिपक्षीमा रहेको एमालेले पनि संसदमा नकारात्मक भूमिका निर्वाह गरिरहेको र मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोजेको आभाष भएको जिकिर गए।
नेपालले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशीमा भएको भोट क्रसको विषयले गठबन्धनमा कुनै असर नपर्ने भन्दै दलभित्र छलफलको बिषय बनेको पनि बताए। निर्वाचन अघि आफ्नो पार्टीलाई कमजोर बनाउन गठबन्धनमा सहकार्यको छलफल एमालेले गरेपनि सफल हुन नसकेको उनले बताए।
सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको भन्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पार्टीलाई जनतामाझ लैजाने र थप बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेकपा समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले गैरकम्युनिष्ट पार्टी र एनजिओ बिधानको नक्कल गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउन नसकिने जिकिर गरे। उनले देशभरको कम्युनिष्टको विधान अध्ययन गरेर लोकतान्त्रीक विधान तयार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै नेकपा समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीभित्रको विधि बिधान बनाउदा प्रविधिको प्रयोग गरेर देशैभरबाट सुझाव लिएर अघि बढ्नुपर्ने बताए। उनले सम्पूर्ण लोकतान्त्रीक अधिकारका साथ पार्टीलाई अनुशासित पार्टी बनाउदै बाम विकल्प दिनका लागि पार्टीलाई लैजानुपर्ने धारणा राखे।
सोमबारसम्म चल्ने केन्द्रीय परिषद् बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी छन्। बैठकमा विधान मस्यौदामाथि समूहगत रुपमा छलफल हुने र निष्कर्ष प्रस्तुत हुने महासचिव भुसालले बताए।












