सूर्यदर्शन सहकारीका वर्तमान र पूर्व अध्यक्षविरुद्ध ‘डिफ्युजन नोटिस’
सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरिएको हो।
काठमाडौं, माघ १४ : एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सूर्यदर्शन सहकारीका वर्तमान र पूर्वअध्यक्षविरुद्ध इन्टरपोलमा ‘डिफ्यूजन नोटिस’ जारी भएको छ।
सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरिएको हो। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार उक्त नोटिस जारी गरेको जनाइएको छ। गत शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो।
बचतकर्ताको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर वमोजिम इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुुरोध गरेको थियो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो। जसमध्ये १५ जना फरार छन्।
सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीमा र अदालती कारवाही चल्दै आएको छ। सूर्यदर्शन सहकारीबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरी प्रतिवेदनले औंल्याएको छ।