अख्तियारले सुनिल विकलमाथि गैरकानुनी सम्पत्ति आर्जनमा छानबिन गर्ने
उनीहरुले नेपाल राष्ट्र बैंकको अनुमतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले जनाएको छ।
काठमाडौं, माघ १० : भ्रष्टाचार मुद्दा समेत चलाइएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धान हुने भएको छ।
उनीहरुले नेपाल राष्ट्र बैंकको अनुमतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले जनाएको छ। यस्तै, सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको देखिएको छ।
विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको समेत अख्तियारले जनाएको छ। निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनीहरूविरुद्ध यसअघि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो। भ्रष्टाचार मुद्दा हाल विचाराधीन अवस्थामा छ। बुधबार नियन्त्रणमा लिएका उनीहरुलाई अख्तियारको अख्तियारको हिरासतमा राखिएको छ। अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा छापा मार्दै कागजात समेत कब्जामा लिएको छ।












