सिटौलालाई जिताउन कांग्रेस नेताहरु विराटनगरमा
कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित झण्डै दर्जन नेता प्रचारप्रसारका लागि विराटनगर पुगेका हुन्।
विराटनगर, माघ १० : सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौलालाई जिताउन कांग्रेसका नेताहरु विराटनगरमा जुटेका छन्।
कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित झण्डै दर्जन नेता प्रचारप्रसारका लागि विराटनगर पुगेका हुन्। सिटौलाकोपक्षमा चुनावी वातावरण बनाउन कोइराला निवासमा कांग्रेस नेता शेखर कोइरालाले बुधबार विशेष चियापान कार्यक्रम आयोजना गरेका थिए। कोशी प्रदेशमा दुई वटा सिटका लागि चुनावी प्रतिश्पर्धा हुँदै छ। कांग्रेसले सिटौलालाई अन्य क्लस्टरबाट निर्वाचनमा उम्मेदवार बनाएको छ।
चुनावमा शक्ति केन्द्रीत गर्न कांग्रेस र माओवादीका जनप्रतिनिधि पनि विराटनगर आइपुगेका छन्। सिटौला गठबन्धनतर्फका साझा उम्मेदवार हुन्। उनी कोशी प्रदेशका १४ जिल्लामा प्रचारप्रसार सकेर अहिले विराटनगरमा केन्द्रित भएका छन्। निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समय सकिए पनि नेताहरु व्यक्तिगत भेटघाट र सम्पर्कमा केन्द्रित छन्। नेताहरूको आन्तरिक बैठक र जमघट जारी छ।
कोशीमा सत्तारुढ गठबन्धन एकातिर छ भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तालमेल गर्दै अर्कातिर चुनावी मैदानमा छ। सिटौलालाई जिताउन नेता कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा दौडधुपमा छन्। चुनावी गणित हेर्दा मत तलमाथि नभए कोशीमा गठवन्धनको पल्लाभारी छ। यता, विपक्षी गठबन्धन नेकपा एमाले र राप्रपाका नेता पनि कोशी प्रदेशमा केन्द्रित छन्। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि विराटनगर पुगिसकेका छन्।











-(86)-1764936079.jpg)
