‘देशभर करिब ५ सय सहकारी संस्थामा समस्या देखिएको छ’
समिति सभापति आरजु राणाले सहकारी क्षेत्रलाई समस्याग्रस्त घोषणा गरी समस्या समाधान हुन नसके आगामी दिनमा थप भयावह रुप लिने बताइन्।काठमाडाैं, माघ ७ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका छन्।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको नियमन गर्न प्रभावकारी संयन्त्र स्थापना हुन नसकेका कारण करिव ५ सय सहकारीमा समस्या देखिएको बताएका हुन्। उनले देशैभरमा करिव १ प्रतिशत सहकारी संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत सहकारी पालीका अन्तर्गत सञ्चालन भइरहेको जानकारी दिए।
अध्यक्ष दाहालले सहकारीको सञ्चालकहरुले नियम अनुसार सञ्चालन गर्न नसक्दा र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या देखिएको बताए। सहकारी सञ्चालनमा पारिवारीक एकताधिकारका कारण पनि बेतिथी देखिएको उनको भनाइ छ। उनले अहिलेको सहकारी समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको बर्गिकरण गर्नुपर्ने र रेड जोनमा रहेका सहकारी सञ्चालनलाई कानून बनाएर कारवाही गर्न सुझाव दिए। अन्य सहकारीलाई कार्ययोजना बनाएर समस्या समाधानतर्फ उन्मुख गर्नुपर्ने उनले बताए।
अध्यक्ष दाहालले सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाएपनि आवश्यक जनशक्ति र पूर्वाधार नहुदा काम गर्न समस्या भएको गुनासो गरे। समितिले प्रहरी निरिक्षक सहितको टोलीको माग गर्दा पनि सुनुवाइ नभएको उहाको भनाइ छ। बैठकमा समिति सदस्यहरुले सहकारी पीडितहरुको संख्या बढ्दा पनि समस्या समाधानका लागि कुनै प्रयास हुन नसकेको बताएका थिए। समिति सभापति आरजु राणाले सहकारी क्षेत्रलाई समस्याग्रस्त घोषणा गरी समस्या समाधान हुन नसके आगामी दिनमा थप भयावह रुप लिने बताइन्।