गिरीको ‘म र मेरो अतीत’ सार्वजनिक
काठमाडौं, फागुन २९ : प्रशासनिक, राजनीतिक र शैक्षिक क्षेत्रमा समेत चिन्तनशील हरिप्रसाद गिरीको आत्मसंस्मरण पुस्तक ‘म र मेरो अतीत’ सार्वजनिक ....

काठमाडौं, फागुन २९ : प्रशासनिक, राजनीतिक र शैक्षिक क्षेत्रमा समेत चिन्तनशील हरिप्रसाद गिरीको आत्मसंस्मरण पुस्तक ‘म र मेरो अतीत’ सार्वजनिक भएको छ।
दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा उनका छोरा सञ्जय गिरीले पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै उद्योगी पद्म ज्योतीले पुस्तक सानो आकारमा भएपनि गुणात्मक रुपले विशिष्ट रहेको बताए। ‘यो पुस्तक सानो भएर पनि एउटा ठूलो क्यानभासलाई सम्बोधन गरेको छ,’ उनले भने, ‘यस पुस्तकमा हरेक क्षेत्रलाई तार्किक ढंगले उल्लेख गरिएको पाइन्छ।’
उनले विपि कोइरालादेखि राजपरिवारसम्म नजिक भएर काम गरेका थिए। गलत कामको जहिल्यै विरोध गरेका थिए भने स्वतन्त्र रुपमा आफ्ना विचार राख्दै आएका थिए।
कार्यक्रममा उनका छोरीहरू तनुजा गिरी, अनुजा गिरी र नम्रता गिरीले उनीसँग गासिएका बालापनका क्षणलाई स्मरण गरेका थिए। खोटाङको भोटेश्वरमा वि.सं. १९८६ मा जन्मिएका गिरीको २०६८ मा निधन भएको थियो।
३९ शीर्षकमा प्रकाशित पुस्तकमा बाल्यकाल, विवाह, जीवनको सफलता र व्यापार, नेतासँग भेट्दाको परिणाम, चलचित्र नायिका रेखासँगको मित्रता, मजदुर हड्तालको निन्दनीय प्रयोगलगायतका विषयलाई समेटेको छ।












