Kathmandu Press

सिरियामा इराननिकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, पाँचजनाको मृत्यु

'इजरायली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाइएको र पाँच जनाको मृत्यु भएको छ। इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ।'
सिरियामा इराननिकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, पाँचजनाको मृत्यु

बेरुत, पुस ६ :  इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन्। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ, 'इजरायली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाइएको र पाँच जनाको मृत्यु भएको छ। इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ।'

सिरियामा रहेका स्रोतहरूको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार लक्षित इलाका इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ। अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले भन्नुभयो, 'ती समूहका वरिष्ठ सदस्यहरूलाई लक्षित गरेर आक्रमण गरिएको थियो।'

Hardik ivf

सिरियाको सरकारी सञ्चार माध्यमले पनि मध्यरातमा भएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ। सरकारी समाचार संस्था सानाका अनुसार दमास्कसको माजेह इलाकामा रहेको एक आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको छ। उक्त समाचारमा हताहत भए÷नभएको भने बताइएको छैन।

घटनास्थलमा रहेका एएफपीका संवाददाताका अनुसार क्षतिग्रस्त भवनलाई एम्बुलेन्स, अग्निनियन्त्रक र सिरियाली अरब रेड क्रिसेन्ट उद्धार टोलीले घेराबन्दी गरेका छन्। पूर्ण रूपमा भत्किएको भवनको भग्नावशेषमुनि रहेका व्यक्तिको खोजीमा नागरिक सुरक्षा निकाय जुटेको उहाँले बताउनुभयो। 

माजेह क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, दूतावास र रेस्टुरेन्टहरू पनि छन्। 'मैले पश्चिमी माजेह क्षेत्रमा विस्फोटको स्पष्ट आवाज सुनेको थिएँ र धुवाँको ठूलो बादल देखेको थिएँ,' स्थानीय प्रत्यक्षदर्शीले एएफपीसँग बताए। ’यो आवाज क्षेप्यास्त्र विस्फोटसँग मिल्दोजुल्दो थियो र केही मिनेटपछि मैले एम्बुलेन्सको आवाज सुनें,' उनले भने।

एक दशकभन्दा लामो गृहयुद्धका क्रममा इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको र त्यसमा मुख्यतया इरान समर्थित सेनाका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ। लेबनानको हिजबुल्लाह आन्दोलनजस्तै इरानको सहयोगी इजरायल र हमासबीच अक्टोबर ७ मा युद्ध सुरु भएयता उसले आक्रमणलाई तीव्र बनाएको छ।

गत डिसेम्बरमा इजरायली हवाई आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड्सका एक वरिष्ठ जनरलको मृत्यु भएको थियो। सन् २०२० जनवरी ३ मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा सेनाका कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि रजी मौसवी इरानबाहिर मारिएका सबैभन्दा वरिष्ठ कमान्डर हुन्। सोही महिनामा पूर्वी सिरियामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना इरान समर्थक लडाकू मारिएको अब्जरभेटरीले जनाएको छ।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्