लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन
राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन भएको जनाएको छ।चितवन, माघ ५ : आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ। राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन भएको जनाएको छ।
गत आवको यही अवधिमा रू आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजारअर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो। सो वर्ष छ महिनाका लागि रू ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो। कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार ६ महिनामा आयकरतर्फ रू एक अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ रू छ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ।
मूल्य अभिवृद्धि करतर्फ रू ८४ करोड सात लाख नौ हजार, ब्याज कर रू पाँच करोड ७८ लाख ९९ हजार, घरबाहल कर रू एक करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर रू ९३ लाख २५ हजार सङ्कलन भएको भट्टराईले जानकारी दिए। उनका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो। अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ।
आर्थिक मन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो। भट्टराईले भने, 'अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ।' युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उनले बताए। कार्यालयमा ६३ हजारभन्दा बढी करदाता छन्।