हर्क साम्पाङले बिपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अन्तरिम आदेश
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले उक्त आदेश दिएको हो। उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा मेयर साम्पाङले तालाबन्दी गरिदिएका थिए।
विराटनगर, माघ ५ : धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले उक्त आदेश दिएको हो। उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा मेयर साम्पाङले तालाबन्दी गरिदिएका थिए। तालाबन्दी खोल्न माग गर्दै सञ्जीवकुमार साहले दायर गरेको रिटमा भएका सुनुवाईपछि उच्च अदालत विरटनगरले ताला खोल्न अन्तरिम आदेश दिएको हो। अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्न नगराउन भनेको छ।
अदालतले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङ लगायतका नाममा अन्तरिम आदेश दिँदै कारण देखाऊ आदेशसमेत जारी गरेको छ। अस्पतालमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको आदेशमा जनाइएको छ।
‘स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवम् नागरिकहरूको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू गराउनू,’ अन्तरिम आदेशमा उल्लेख छ।











-(86)-1764936079.jpg)
