राष्ट्रपति रनिङ शिल्डले बढायो ग्रामीण क्षेत्रमा ‘खेलकुद क्रेज’
यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ ।काठमाडौं, माघ ३ : जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।
यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ । यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् । रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उनले बताए । उनले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिए ।
ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ ।
आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । अध्यक्ष बाँस्तोलाले भने, “टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ ।”
माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए ।
यसपटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साताहुँदै छ । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन् । पालिकास्तरबाट छनोट भई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन् । रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् । जिल्लामा विगत वर्षमा माईभ्याली गोल्डकप आयोजना हुँदै आएकामा यस वर्ष माईभ्याली गोल्डकप स्थगित गरिएको छ । इलाम गोल्डकप हुने भएपछि ठूलो टुँडिखेलमा यतिबेला बासको प्यारापिट निर्माण भइरहेको छ । स्थायी प्यारापिट अभावमा बासको प्यारापिट निर्माण गर्दा रु १२ लाख बढी रकम सकिएको आयोजक रेडहर्स फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए ।