मेसी बने फिफा उत्कृष्ट वर्ष खेलाडी
यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो ।काठमाडौं, माघ २ : अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।
यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो ।
केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए । मेसी ले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए । यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।
यसैगरी, मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरबनिन् । पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ । म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् ।
इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अङ्क र सिमोन इन्जाघी ११ अङ्क र ग्वार्डिओला २८ अंकसहित उतकृष्ट घोषित भएका हुन् । यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।
मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए । यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ ।