रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा पिएम कपमा एपिएफको जित
सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो। खेलमा कप्तान रोहितले ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा ३ विकेट लिए।काठमाडाैं, माघ १ : रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपिएफले लागतार दोस्रो जित निकालेको छ।
सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो। खेलमा कप्तान रोहितले ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा ३ विकेट लिए। कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य एपिएफले १९.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए।
यस्तै, प्रज्वल साहीले २२ र सुमित महर्जनले २० रन बनाए। कोशीका फिर्दोश अन्सारी, कमल खत्री, समीर कार्की र सोनु मण्डलले समान १ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको कोशी४४.३ ओभरमा १३५ रनमै अलआउट भयो। उसका लागि फिर्दोश अन्सारीले अर्धशतक बनाए। उनले ८५ बल खेल्दै ८ चौका मद्दतमा ५५ रन बनाए।
यस्तै, सोनु अन्सारीले ४४ बलमा २० रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका अविनाश बोहरा र रोहितले समान ३ विकेट लिए। अविनाशले ८।३ ओभरमा १३ रन खर्चिए भने रोहितले ७ ओभरमा २४ रन खर्चिए।
यस्तै, अमरसिंह रौटेलले पनि २ विकेट लिए। प्रतियोगितामा एपिएफले अलगातार दोस्रो जित निकाल्दा कोशीको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एपिएफले बागमतीलाई हराएको थियो भने कोशी मधेस प्रदेशसँग पराजित भएको थियो।