रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने
मस्को, फागुन २८ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको छ।....

मस्को, फागुन २८ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको छ। उनीहरूबीच बिहीबार मस्कोमा वार्ता हुने जनाएको छ।
सिरियाको इद्लिव प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा वार्ता हुने जनाइएको छ। इद्लिवमा जारी रहेको हिंसाका कारण त्यहाँको अवस्था प्रतिदिन नाजुक हुदै गएको छ। त्यसैले वार्ता हुन लागेको जनाएको छ।
सिरियामा पछिल्लो समयमा आप्रवासीहरुबीच ठूलो द्वन्द्व सिर्जना भएको छ। जसका कारण यहाँको अवस्था बिग्रिँदै गएपछि दुई राष्ट्रप्रमुखबीच भेटवार्ताका लागि तयार भएका हुन्।
मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र लगभग अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा वार्तामा बस्न लागेकाले विश्वको ध्यान तानिएको बताएका छन्।
वार्तामा विशेषगरी इद्लिबको युद्धविरामका विषयका साथै सिरियामा शान्ति स्थापनाका विषयमा पनि आवश्यक मात्रामा कुराकानी हुने रुसले जनाएको छ।
गत केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन्। मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाएका थिए।
यसरी सिरियामा टर्कीका सेना मारिएपछि टर्कीले पनि पहिलो पटक सिरियाली राष्ट्रपति बसर अल असदका विरुद्धमा आक्रामक कारबाही नै अघि सारेको छ।
यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति ब्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ। सिरियाको इद्लिबमा समय समयमा युद्धविराम भएको भनिएको भए पनि हिंसा भने कम भएको छैन।
लामो समयदेखि जारी रहेको सिरियाको हिंसाको अन्त्यका विभिन्न प्रयासहरु सफल हुन सकेका छैनन्। ती प्रयासहरु कहिले संयुक्त राष्ट्रसंघ त कहिले अमेरिकाले पनि अघि सारेको थियो।
सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो। आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।
गृहयुद्धमा अल कायदा इस्लामिक स्ट्टेस (आइएस)जस्ता आतङ्ककारी समूह हाबी हदै गए। यस आन्दोलनमा अहिलेसम्म तीन हजार ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौं घाइते भएका छन् भने लाखौं देशभित्र र बाहिर शरणार्थी जीवन यापन गर्न बाध्य भएका छन्।












