कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर चार हजार भन्दा बढीको मृत्यु
काठमाडौं, फागुन २७ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर चार हजार २७ जनाको मृत्यु भएको छ। भाइरसको संक्रमण एक लाख १४ हजार चार सय ५८ जनामा भएको छ। य....

काठमाडौं, फागुन २७ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर चार हजार २७ जनाको मृत्यु भएको छ। भाइरसको संक्रमण एक लाख १४ हजार चार सय ५८ जनामा भएको छ। यसमध्ये ६४ हजार एक सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन्।
बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन ओटा नयाँ देशमा कोरोना भइरसको सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको भाइरसको संक्रमणबाट चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएको थियो। हालसम्म चीनभरी यस रोगको कारण मृत्यु हुनेको संख्या तीन हजार एक सय ३६ पुगेको छ।
गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस सङ्क्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ। गत २४ घण्टामा विश्वभरी तीन हजार नौ सय ९३ मा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो।
इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या चार सय ६३ पुगेको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार पाँच सय १३ जना सङ्क्रमित रहेका र ५४ जनाको मृत्यु भएको छ।
यसैबीच प्राप्त समाचार अनुसार इरानमा सात हजार एक सय ६१ जना सङ्क्रमित रहेका र दुई सय ३७ व्यक्तिको मृत्यु भएको छ।
विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ।
कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४७ पुगेको छ। उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि घर पठाइएको सरकारी अधिकारीहरुले बताएका छन्।
उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार एक सय १२ जना सङ्क्रमित भएको जनाएको छ। यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन्। बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन सय १९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
त्यस्तै माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।
जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ। सङ्क्रमितको सङ्ख्या पाँच सय पाँच पुगेको छ । स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन्। जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन्।
त्यसैगरी बेल्जियममा सङ्क्रमितको सङ्ख्या दुई सय ३९ पुगेको छ भने हङ्कङमा एक सय १५, प्यालेस्टाइनमा २५, मलेसियामा एक सय १७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ।












