चार पटक म्याद थपिँदा दाेब्बर लागत, अझै समयमा नसकिने
काठमाडौं, फागुन २७ : सरकारले अबको २० दिनभित्रै परीक्षण उडान गर्ने घोषणा गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै नसकिने भएको छ। यस अघि चा....

काठमाडौं, फागुन २७ : सरकारले अबको २० दिनभित्रै परीक्षण उडान गर्ने घोषणा गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै नसकिने भएको छ। यस अघि चार पटक म्याद थप हुँदा लागत बढेर दाेब्बर भएकाे छ भने समयमै नसकिँदा अझै लागत बढ्ने भएकाे छ।
राष्ट्रिय गौरवको आयोजना केही सयमयता निर्माणले गति लिन सकेको छैन। जसले गर्दा चार पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। पछिल्लो पटक भने चीनबाट सामान र कामदार नआएपछि काम अवरुद्ध भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले थेग्न नसक्ने भन्दै सन् २०१५ जनवरी १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरिएको थियो। त्यतिवेला दुई वर्ष अर्थात सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, समयमा नसकिँएपछि चार पटक म्याद थपिएको थियो।
यस अघि स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद काम हुन नसकेको जनाएको थियो। त्यस्तै, भारतीय नाकाबन्दीका कारण ढिलाइ भएको जनाएको छ। यस पटक भने कोरोना भाइरसका कारण काम हुन नसकेको जनाएको छ।
चीनियाँ नयाँ वर्ष मनाउन र विमानस्थलका लागि अवाश्यक उपकरणहरू सँगै ल्याउने योजना बनाएर गएका निर्माण कम्पनीका कर्मचारीहरू चीनमै रोकिएको विमानस्थल आयोजनाले जनाएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक एवं राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीले कामदार तथा उपकरण नहुँदा निर्माणमा समस्या देखिएको बताए।
‘चौथो पटक म्याद थप गर्दा मार्च ३० सम्म निर्माण सक्नुपर्ने थियो। तोकिएको समयमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीले पनि रातारात काम गरेको थियो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘तर, कोरोना भाइरसका कारण कामदारसँगै उपकरण चीनमा रोकिँदा कहिले निर्माण सम्पन्न हुन्छ भन्ने नै अन्योलमा छ।’
आयोजनका प्रमुख अधिकारीका अनुसार धावनमार्गको लाइट, ब्यागेज ह्यान्डलिङ सिस्टमको कनवेयर लेल्ड चीनमै रोकिएको छ। अन्य उपरकण विमानस्थलमा ल्याइसकिएको भएपनि प्राविधिक नहुँदा जडान गर्न सकिएको छैन। ‘स्थानीय रुपमा गर्ने अन्य कामहरु भइरहेको छ। विमानस्थल निर्माण अन्तिम चरणमा पुग्दा उपकरण जडानले गर्दा निर्माणमा समस्या भएको छ,’ अधिकारीले भने।
आयोजनाका अनुसार चिनियाँ नर्थ वेस्ट एभियसन कम्पनीले निर्माण गरेको विमानस्थलको सिभिलतर्फको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
पाँच वर्षमा चार पटक म्याद थप
सन् २०१५ जनवरी १५ मा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो। त्यसअनुसार, दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो, तर पाँच वर्षसम्म पनि पूरा भएको छैन।
स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद तथा भारतीय नाकाबन्दीका कारण ढिलाइ भएको जनाउँदै पहिलो पटक ६ महिना म्याद थपिएको थियो। पहिलो पटक म्याद थपिँदा सन् २०१८ जुन १५ मा निर्माण गरिसक्नुपर्ने थियो।
तर, निर्माण सम्पन्न नभएपछि दोस्रो पटक एक वर्ष म्याद थप गरियो। त्यसपछि थपिएको एक वर्ष अर्थात सन् २०१९ जुन २८ मा पनि काम सकिँएन्।
तेस्रो पटक सन् २०१९ डिसेम्बर ३० सम्मका लागि ६ महिना म्याद थपिएको थियो। त्यसमा पनि नभएपछि चौथो पटक सन् २०२० मार्च ३० सम्मका लागि म्याद थपिएको हो। यसमा पनि निर्माण सम्पन्न नहुने भएको छ।
आयोजना प्रमुख अधिकारी विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कोरोना भाइरसको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने बताउँछन्।
आठ अर्ब ५५ करोडबाट ११ अर्ब पुग्यो लगानी
विमानस्थल निर्माणमा आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान गरिएको थियो। समयमा काम नसकिँदा ११ अर्ब पुग्ने अनुमान गरिएको छ। अझै समय थप हुँदै गएमा लागत बढ्दै जाने निश्चित छ।
विमानस्थल निर्माणमा विशेषज्ञता हाँसिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
यसमध्ये ४०.५ प्रतिशत एशियाली विकास बैंकको ऋण र १८ प्रतिशत अनुदान लगानी छ। ओपेक कोषबाट ३०.५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत रकम रहेको छ।
यो विमानस्थल तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाई र २३ मिटर चौडाईमा ट्याक्सी–वे निर्माण भइसकेको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा पार्किङ–वे निर्माण भइसकेका छन्।











