प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गर्ने तयारी
काठमाडौं, फागुन २७ : मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री ओलीको दोस्र....

काठमाडौं, फागुन २७ : मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
अस्पतालका अनुसार, आइतबारदेखि नै प्रधानमन्त्री ओली हिडडुल गर्न थालेका छन्। उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकले अझै एक साता अस्पतालमा बस्नुपर्ने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री ओलीले डिस्चार्ज गर्न जोड दिएको जनाएको छ। जसले गर्दा आज डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।
‘प्रधानमन्त्रीज्यूले डिस्चार्ज गर्नुस् भनिरहनु भएको छ। त्यसैले आज डिस्चार्ज गर्ने तयारी गरिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘चिकित्सकको सल्लाह मान्नु भयो भने अझै एक साता राखिनेछ।’
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बनेको छ। उनलाई पनि आजै डिस्चार्ज गर्ने तयारी छ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसले काम गर्न छोडेपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।
चिकित्सकअनुसार, आज डिस्चार्ज भएपनि तीन महिनासम्म प्रधानमन्त्री ओलीले सतर्कता अपनाउनुपर्नेछ। सार्वजनिक कार्यक्रममा सहभागी नहुन चिकित्सकले सल्लाह दिएका छन्। तीन महिनासम्म संक्रमणको जोखिम रहने चिकित्सकहरुको भनाइ छ।











