चिलिमे-त्रिसूली प्रसारण लाइनको निर्माणलाई तिब्रता दिने सहमति
काठमाडौं, फागुन २६ : रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्र....

काठमाडौं, फागुन २६ : रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ।
टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन त्रिसूली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो। आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरुको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ।
सहमतिअनुसार, ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन, चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमशः चार सय, एक सय ३० र दुई सय ५० श्रमिक परिचालन गर्नेछ।
ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेश भएका बिलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुंग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्नेछन्। चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ।
कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने बताए। ‘तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, अहिलको गतिमा प्रसारण लाइन र सबस्टेसनको निर्माण सक्नै धेरै समय लाग्छ, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन। त्यसैले निर्माणलाई तिब्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिंड्नुहोस्,’ घिसिङले भने, ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्ने छौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्नेछ।’
ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ।
प्रसारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये ८ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ भने बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कन्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले जानकारी दिए।
आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।
ठेक्का सम्झौताअनुसार, प्रसारण लाइनको आगामी फागुनको दोस्रो साताभित्र निर्माण सम्पन्न हुनु पर्ने थियो। अहिले ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ। परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ।
त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्न लागिएको हो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानीबैकको सहुलितपूर्ण ऋण रहेको छ।










-1754206481.jpg)
