ललितपुर बन्यो एनएसएलको च्याम्पियन
शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफिसीलाई ३–२ले हराउँदै ललितपुर च्याम्पियन बनेको हो।काठमाडौं, पुस १४ : दोस्रो संस्करणको नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफिसीलाई ३–२ले हराउँदै ललितपुर च्याम्पियन बनेको हो।
१ गोलले पछि परेको अवस्था उल्टाउँदै ललितपुर च्याम्पियन बनेको हो। यता, लागतार दुई फाइनल खेलेर पनि धनगढी भने उपाधिबाट बञ्चित भयो। पहिलो संस्करणमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो।
ललितपुरलाई च्याम्पियन बनाउने क्रममा इमो एजिकेलले २ गोल गरे भने दिनेश हेम्जनले १ गोल गरे। धनगढीका लागि ओलावाले आफिज र मोहम्मद हिजाजीले गोल गरेका थिए।
खेलमा अग्रता भने धनगढीले लियो। ३७औं मिनेटमा धनगढीका ओलावाले गोल गरेका थिए। तर, पहिलो हाफको इन्जुरी समयको पनि अन्तिम मिनेटमा इजिकेलले फ्रिकिकमा गोल गर्दै टिमलाई खेलमा फर्काए।
दोस्रो हाफमा भने लतलिपुर पूर्णरुपमा हावी भयो। ५०औं मिनेटमा दिनेश हेमजनले गोल गर्दै ललितपुरलाइृ खेलमा अग्रता दिलाए। ५८औं मिनेटमा इजिकेलले गोल गर्दै ललितपुरलाई उपाधिको नजिक बनाए। यो जारी प्रतियोगितामा उनको छैठौं गोल हो। योसँगै उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए।
इन्जुरी समयको सातौं मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा धनगढी लागतार दोस्रो पटक फाइनल खेलेर पनि उपाधिबाट बञ्चिन भयो।