प्रधानमन्त्री महिला क्रिकेट : कोशीले प्लेअफ खेल्ने पक्का
जितसँगै कोशी दोस्रो स्थानमा रहेर प्लेअफ खेल्ने पक्का भएको छ। कोशीले ७ खेलमा १२ अंक बटुलेको छ।काठमाडौं, पुस १४ : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा कोशी प्रदेश ७ विकेटले विजयी भएको छ।
मूलपानी क्रिकेट मैदानमा कोशीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो।
जितसँगै कोशी दोस्रो स्थानमा रहेर प्लेअफ खेल्ने पक्का भएको छ। कोशीले ७ खेलमा १२ अंक बटुलेको छ। अपराजित रहेको एपीएफ १४ अंकका साथ शीर्ष स्थानमा छ। लुम्बिनीको भने यो पाँचौं हार हो। लुम्बिनी तालिकाको छैटौं स्थानमा रहेर प्रतियोगिताबाट आजै बिदा भएको छ।
आजको खेलमा लुम्बिनीले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर निर्धारित २० ओभरमा ६९ रन बनाएको थियो। जबाफमा कोशी प्रदेशले १०.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो।
कोशीलाई जित दिलाउन कप्तान रुविना क्षेत्रीले ४४ रनको पारि खेलिन्। उनले ३४ बलमा ८ चौका प्रहार गरिन्। यस्तै काजल श्रेष्ठको ब्याटबाट १३ बलमा १३ रन बन्यो। अप्सरी बेगम २ रनमा आउट हुँदा लकिता राजवंशी ५ रनमा नटआउट रहिन्। लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा मधु डिसीले एक विकेट लिइन्।
पहिला ब्याटिङ गर्दा लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक १७ रन बनाउँदा आश्मा पुलामी मगरले १६ रनको पारि खेलिन्। अन्त्यमा मनीषा रानाले १२ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।
कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ४ विकेट लिँदा संगीता राईले २ विकेट लिइन्। यसैगरी सबनम राई, अप्सरी बेगम र एलिसा केडियाले एक–एक विकेट लिए।