प्रधानमन्त्री कप महिला क्रिकेट : शीर्ष स्थानमा रहँदै एपिएफ क्वालिफायरमा, वाग्मती एलिमिनेटरमा
काठमाडौं, पुस १४ : प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफले शीर्ष स्थनमा रहेर पहिलो प्लेअफ खेल्ने भएको छ। राजधानीमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा वाग्मती प्रदेशलाई ४७ रनले पराजित गरेको छ। मूलपानी मैदानमा एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको थियो।
एपीएफका लागि कप्तान सीता रानामगरले ५० बलमा ४४ रनको योगदान दिइन्। उनले ४ चौका प्रहार गरेकी थिइन्। यस्तै, इन्दू वर्माले २२ बलमा २८ रन बनाउँदा ३ चौका प्रहार गरेकी थिइन्। रोमा थापाले १९ बलमा १९ रन नटआउट बनाउँदा ममता चौधरीले ९ बलमा १२ रनको नटआउट पारि खेलिन्। ओपनर ज्योती पाण्डेले २१ बल फेस गर्दा १३ रन जोडिन्।
वाग्मतीका लागि संस्कृति फुयाँल, मनिषा उपाध्याय र सेविका यादवले एक एक विकेट लिए। जवाफी लक्ष्यसहित मैदान उत्रिएको बागमति प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर ७९ रनमात्रै बनाउँदा ४७ रनको हार व्यहोर्न पुग्यो।
वाग्मतीका लागि सोनी पाख्रीनले ३९ बलमा २० रन बनाउँदा यसु पाण्डेले १८ बलमा १७ रनको पारि खेलिन्। अन्य खेलाडीहरुमा खुसी डंगोल १० रन तथा संस्कृति फुयाँला २ रनमा नटआउट रहँदा कञ्चन श्रेष्ठले ८, यसोदा विष्टले ५ र हेलिसा गुरुङले २ रन बनाए। कप्तान अस्मिना कर्माचार्य र सेविका यादव एक एक रनमा आउट भए।
एपीएफका लागि सुमन विष्टले २ विकेट लिँदा सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले एक एक विकेट लिए। एपीएफको यो लगातार समूह चरणको सातौं खेल हो। जितसहित एपीएफ १४ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ। पराजित भए पनि वाग्मतीले अन्तिम चारमा स्थान भने पक्का गरेको छ।
छ।