प्रधानमन्त्री कप महिला क्रिकेट : कर्णालीलाई हराउँदै बागमती प्लेअफमा
काठमाडौं, पुस १२ : प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कर्णालीलाई हराउँदै बागमती प्लेअफमा प्रवेश गरेकाे छ।मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीसँग कर्णालीले १० विकेटको हार बेहोरेको हो। कर्णाली लगातार छैटौं हार बेहोर्न बाध्य भएको छ।
कर्णाली प्रदेशले दिएको ४३ रनको लक्ष्य बागमतीले विकेट नगुमाएर पूरा गरेको थियो। बागमती प्रदेशलाई जित दिलाउन यशु पाण्डेले २५ तथा हेलिसा गुरुङले १३ रनको नटआउट पारी खेले।
पहिला ब्याटिङ गर्दै कर्णाली प्रदेशले १३.४ ओभरमा सवै विकेट गुमाएर ४२ रन बनाएको थियो। कर्णालीका लागि श्रुती बुढाले सर्वाधिक १६ र विना थापाले १२ रन बनाए। किरण कुँवरले ५ रन बनाउँदा तृषणा विश्वकर्मा, गौरी बोहोरा, करिश्मा शाही र निलम शाहीले एक एक रन बनाए।
यस्तै, एन्जिला थापा, विमला वुढाथोकी, रश्मि खडका र निकिता धमाले खाता पनि खोल्न सकेनन्। बागमतीका लागि खुसी डंगोलले सर्वाधिक ४ विकेट लिँदा संस्कृति फुयाँलले २ विकेट लिइन्। यसैगरी सोनी पाख्रीन र विपिसा शाहीले एक एक विकेट लिए।
बागमती प्रदेश जितका साथ तालिकाको चौथो स्थानमा रहेको छ। एपीएफ र कोशी १०–१० अंकका साथ शीर्ष दुईमा रहँदा सुदूरपश्चिम र बागमति ८–८ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्। पाँचौं र छैटौं स्थानमा रहेका लुम्बिनी र मधेश प्रदेशको भने चारचार अंक रहेको छ। प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ। बाग्मतीका साथै काेशी, एपिएफ र सुदूरपश्चिम प्लेअफमा पुगेका हुन्।