Kathmandu Press

संसदमा पुरुषभन्दा महिला सांसदको भूमिका कम छैन: सचेतक भुषाल

काठमाडौं, फागुन २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर....

संसदमा पुरुषभन्दा महिला सांसदको भूमिका कम छैन: सचेतक भुषाल
फाइल

काठमाडौं, फागुन २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर्न आवश्यक रहेको बताएकी छिन्।

काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा उनले महिला पनि नेपालको प्रधानमन्त्री बन्न योग्य रहेको बताइन्। आफूहरुले ठूलो संघर्ष र आन्दोलनबाट अहिलेको अधिकार प्राप्त गरेको बताउँदै उनले  अझै पनि संघर्षको यात्रामा विश्राम नलागेको बताइन्।

भुषालले भनिन्,‘हामीले सडक र सदनमा संघर्ष गरेका छौं। हिजोको परम्परागत भूमिकासँगै अब आधुनिक भूमिका निर्वाह गर्नुपर्छ। हामीले राजनीतिक अधिकार नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।’ 

उनले संविधानमै लेखेको महिला अधिकारको कुरा पालना गर्ने सवालमा सरकार किन उदासीन भएको आरोप लगाइन्। उनले भनिन्,‘उपसभामुख पनि पुरुष हुनुपर्छ भनेर संविधानमा व्यवस्था गरेको भए अहिले यो पद खाली नै हुँदैन थियो। तर, महिला हुनुपर्ने व्यवस्था गरेकाले अहिलेसम्म विलम्ब भएको छ। पुरुष नभएर महिला हुनुपर्ने व्यवस्था भएको कारण उपसभामुखको पदपूर्तिमा विलम्ब भएको हो। पुरुष हुने व्यवस्था भएको भए अहिलेसम्म उपसभामुख पदासीन भइसक्नुहुन्थ्यो।’

उनले संघीय संसदमा पनि कुनै पनि पुरुष सांसदभन्दा महिला सांसदहरुको भूमिका कम नभएको जिकिर गरिन्। उनले समानुपातिक सांसदहरुको लागि बजेटमै विभेद गरिएको पनि गुनासो पोखिन्। उनले महिलाहरु पनि चुनाव जितेर आएको सुनाउँदै भोलिका दिनमा पनि चुनाव जित्न सक्षम रहेको बताइन्।
 

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, फागुन २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्