प्रधानमन्त्री भएर देश हाँक्न हामी सक्षम छौं : मन्त्री अर्याल
काठमाडौं, फागुन २५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकाले प्रधानमन्त्र....

काठमाडौं, फागुन २५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकाले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको बताएकी छिन्।
११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा मन्त्री अर्यालले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पाएको पनि बताइन्।
उनले भने,‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन। त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाइ बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने आन्दोलनले एकरुपता पाएको उनले बताइन्।
उनले विगतको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन्। ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ,’उनले भनिन्,‘समानताको ढोका खोलिएको छ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धि विकास र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भइसकेको पनि उनको दाबी छ। उनले भनिन्,‘जो जो महिलाहरुले अहिलेम्म महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरुले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ। अब महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ।’
देशको नेतृत्व लिने गरी महिला प्रधानमन्त्री बन्ने कुरा पनि सम्भव रहेको उनले बताइन्। उनले भनिन्,‘परिस्थिति बन्दा र महिलामाथि विश्वास प्रकट हुँदा महिला प्रधानमन्त्री बन्नसक्ने कुरा स्वभाविक हो।’











