सिरुघारीमा मानव कंकाल फेला

नवलपुर, पुस ५ : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कंकाल फेला परेको छ। मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए।
कंकालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उनले बताए। सो कंकाल महिला वा पुरुषको हो भन्नेसमेत पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले उक्त कंकाल पुरुषको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माको भनाइ थियो।
फेला परेको कंकाल हत्या गरेर फालिएको वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन। जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ। यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो।
घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको हुनसक्ने प्रमरम्भिक अनुसन्धानबाट खुलेको छ। कंकाल अहिले मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको तथा डिएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
