प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती र एपीएफकाे विजयी सुरूवात

काठमाडौं, पुस ५ : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो।
काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनायो। अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टायो।
एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाइन्। पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हिर्काइन्। यस्तै बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरिन्। बलिङतर्फ सुदूरपश्चिमकी इश्वरी विष्टले एक विकेट लिइन्।
यसअघि ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाइन्। यो बाहेक अन्य कुनै पनि खेलाडीले दोहरो अङ्कमा रन बनाउन सकेनन्। बलिङतर्फ एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले एक एक विकेट लिइन्।
यसैगरी कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमतीले मधेश प्रदेशलाई २८ रनले पराजित गर्यो। बागमतीले दिएको ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेटको क्षतिमा ८९ रन मात्र जोड्न सक्यो।
मधेशका लागि पूजा महतोले ३५ रन जोडिन् भने अनुराधा चौधरीले २१ रन र प्रतिमा साहले नटआउट १५ रन बनाए। बलिङमा बागमतीकी कप्तान अस्मिना कर्माचार्यले २ विकेट र मनिषा उपाध्यायले १ विकेट लिए। बागमतीले मधेशका दुई ब्याटरलाई रनआउट गर्यो।
टस जितेको मधेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले ४ विकेटको क्षतिमा ११७ रन जोड्यो। बागमतीका लागि यशोदा विष्टले नटआउट ४७ रन र कप्तान अस्मिना कर्माचार्यले नटआउट ३० रन जोडे। दुईबीच नटआउट ७२ रनको साझेदारी भएको थियो।












-1765629162.jpg)