ग्लोबल आइएमईको अगुवाइमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरु
काठमाडाैं, पुस ५ : ग्लोबल आइएमई बैंकको अगुवाइमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरु भएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा सुरू भएकाे भिजा स्क्यान टु पे कार्डदेखि–व्यापारीसम्मको भुक्तानी सेवा हो। उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकले फिजिकल कार्डको प्रयोगबिना नै उक्त बैंकको कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन्।
उक्त प्रणालीको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नीरज ढुंगानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित संयुक्त रूपमा सेवाको उद्घाटन गरेको जनाइएको छ।
सेवाको सुरुवातपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुंगा साबित हुने बताए । सरकार र राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंकलगायत संलग्न सबै धन्यवादको पात्र भएको उनले स्पष्ट पारे।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँनयाँ प्रविधिको विकास र विस्तारमा सधैं अग्रणी रहेको बताए । नयाँ प्रविधिको विकासका साथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्धन गर्न जरुरी रहेको उनको भनाइ थियो। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए ।
ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँ–नयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुशरण गर्न ठूलो समस्या रहेको बताए । स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए भिजाको नेपाल, बंगलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँनयाँ प्रविधिको अनुशरण गर्न नेपाल अगाडि रहेको बताए।