Kathmandu Press
सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य
सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

काठमाडौं, पुस ४ : सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। मन्त्रिपरिषद्को आज (बुधबार) बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो।

जसमा उखु मिलले ५६५ रुपैयाँ दिनुपर्ने र ७० रुपैयाँ सरकारले अनुदान दिने बताइएकाे छ। बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। किसानहरुले भने उखुको खरिदमूल्य प्रतिक्विन्टल ७ सय ५० पुराउनुपर्ने माग राख्दै आएका थिए।

त्यस्तै प्रवक्ता शर्माले सरकारको एक वर्षे अवधिको समीक्षा भएको र मूख्यसचिवबाट सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजना सहित कार्ययोजना प्रस्तुत गरेको जानकारी दिइन्।

प्रवक्ता शर्माले मन्त्रिपरिषद् बैठक बस्नका लागि मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको नयाँ हललाई पनि प्रयोगमा ल्याइएको बताइन्। मन्त्रिपरिषद्को नियमित बैठक भने भोलि (बिहीबार) बस्ने प्रवक्ता शर्माको भनाइ छ।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्