कोरोना भाइरसबाट बच्न कांग्रेसले जारी गर्यो १५ बुँदे भिडियो सन्देश
काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसले कोरोना भाइरसबाट बच्न सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ।
शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माल....

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसले कोरोना भाइरसबाट बच्न सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ।
शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले चार मिनेटको सचेतनामुलक भिडियो सन्देश जारी गरेका हुन्। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जोखिम सामना गर्न तत्काल गरिनुपर्ने कार्यहरुबारे १५ बुँदे भिडियो सन्देश जारी गरेको हो।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यसलगत्तै नेपालमा र विदेशमा रहेका नेपालीमा कोरोनाको डर बढेको छ। कोरोनाको त्रास बढेसँगै कांग्रेसले यसअघि पनि यससँग जुध्न सरकारलाई औचारिकरुपमा सुझाव दिएको थियो।
यस्तै, कांग्रेसले कुनै पनि औपचारिक सभा–सम्मेलन नगर्ने निर्णय समेत गरिसकेको छ। जोखिम कम नहुञ्जेलसम्मका लागि कांग्रेसले सबै भ्रातृसंस्था र शुभेच्छुक संस्थालाई समेत औपचारिक कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ। कोरोना भाइरसबारे सभा–सम्मेलन रोक्ने, सरकारलाई सुझाव दिने र देशबासीका नाममा सचेतानमूलक भिडियो जारी गर्ने कांग्रेस एक्लो दल हो।
पछिल्लो समय कांग्रेसले प्रविधिको उपयोग गरी भिडियोमार्फत सन्देश जारी गर्ने गरेको छ। सबै नेपालीमाझ आफ्नो सन्देश पु¥याउन सहज हुने भन्दै कांग्रेसले भिडियोको उपयोग गर्न थालेको हो। ‘वर्तमान सरकारको सय दिनको समिक्षा गर्दा नै भिडियो जारी गरेका थियौं,’ प्रवक्ता शर्माले भने, ‘प्रविधिमा जनताको पहुँच पुगेसँगै इन्फ्रोग्राफिक्स, भिडियोमार्फत दिइने सन्देश थप प्रभाकारी हुन्छ।’
शर्माले कोरोना भाइरसको सन्दर्भमा सरकारलाई सुझाव दिने मात्रै नभएर सर्वसाधारणमाझ सचेतना जगाउने दायित्व सबैको भएकाले भिडियो सन्देश जारी गरेको बताए। ‘यो बेला सरकारलाई सुझाव दिने, सघाउने मात्रै होइन। सर्वसाधारणका बीचमा यसबाट बच्ने उपायबारे सचेतना जगाउने काम सबैको हो,’ उनले भने, ‘यो भिडियोमा सरकारलाई सुझावसँगै कोरोनाबाट बच्ने उपायबारे जानकारी दिइएको छ।’
भिडियोमा के छ?
१. विश्व स्वास्थ्य संगठनले घोषणा ग¥यो नेपाल समेत उच्च जोखिममा छ। भूकम्पपछि ब्यूझिँएझै होइन। समयमै ब्यूँझौ र एक भएर जुधौं।
२. संक्रमण फैलिएको देशहरुमा नेपालीको भ्रमणमा तत्काल रोक नै लगाउनुपर्छ।
३. ती देशहरुबाट नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडान सम्पूर्ण रुपले रोकिनुपर्छ।
४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच कामचलाऊ ढंगको रह्यो, तर अब विशेष कडाइमा रत्तिभर कमजोरी गरिनुहुन्न। सतर्क हौं, एक गल्तीले भित्रिन सक्छ कोरोना।
५. आकाश मार्गबाट मात्र होइन, थल मार्गबाट पनि भित्रन सक्छ कोरोना। किन अझै पनि कडाइ गरिएको छैन। थल मार्गका नाकाहरुमा। सरकारको ध्यान तत्काल पुगोस्।
६. तीनै तहको सरकारको समन्वयमा संगठित र एकीकृत कार्ययोजना जरुरी छ।
७. प्रयोगशालामा परीक्षण किट र दक्ष जनशक्तिको अभाव हुन नदिन समयमै सतर्कता जरुरी छ।
८. संक्रमण भित्रिए जुध्ने मुलतः स्वास्थकर्मीहरुले हो। अतः उहाँहरुका लागि विशेष प्रोत्साहन र आवश्यक परीक्षणसँगै विशेष प्रकृतिको एप्रोन र जरुरी उपकरणको जोहोमा सरकारले समयमै ध्यान पुर्याउनुपर्छ।
९. बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विद्यालय र सञ्चारमाध्यमहरुको विशेष सतर्कता रहोस्।
१०. कोरोना संक्रमणबाट सुरक्षित हुन नागरिकहरु बजारमा एन–९५ मास्क खोजिरहेका छन्। तर अभाव छ। सरकारले प्रबन्ध गर्न तत्काल ध्यान पुर्याओस्।
११. सम्भावित खाद्यान्न संकट र कालोबजारीतर्फ सरकारको सर्तकता समयमै पुगोस्।
१२. नेपाल बाहिर रहेका नेपालीहरुलाई दूतावास एवं संघसंस्थाका माध्यमबाट सम्पर्क स्थापित गरेर सरकारले अपनत्व र अभिभावकत्व अनुभूति गराओस्।
१३. चीनको वुहानबाट केबल १८० नेपालीलाई उद्दार गरेर ल्याउन दुई साता लामो छलफल र विवादपछि बल्ल हामी समर्थ भएको अनुभव स्मरण गर्दै आगामी दिनमा अत्यावश्यक पर्न सक्ने क्वारेन्टाइनहरु दर्जनौं स्थानमा निर्माण गर्न सरकारले युद्धस्तरमा कार्य गरोस्।
१४. संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारमाध्यमको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पुर्याओस्।
१५. कोरोना संक्रमणबारेमा नेपाली कांग्रेसले देशभर पार्टी पंक्तिलाई शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म सतर्कता र चेतनाको अभियान अघि बढाउन सुचित गरिसकेको छ। सरकार र सम्बन्धित निकायहरुले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिको पालना र कार्यान्वयनमा सबैलाई दायित्वबोधका साथ आत्मसाथ गर्न हामी हार्दिक अपील गर्दछौं।
हेर्नुस् भिडियो :











