एस बैंकबाट पैसा झिक्न ग्राहकको भीड
मुम्बई,फागुन २३ : भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘एस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न प....

मुम्बई,फागुन २३ : भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘एस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि ग्राहक निराश भएका छन्। उनीहरू पैसा झिक्न एस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बसिरहेका छन्।
मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका एस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए। ‘मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ। एनईएफटी कारोबार पनि भइरहेको छैन। म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ,’ उनले भने।
अन्य ग्राहकले पनि गुनासो गरेका छन्। ‘यो अति नै पिडादायी कुरा हो, तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ,’ अर्का ग्राहकले भने, ‘मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ।’
भारतीय केन्द्रीय बैंकले बिहीबार एस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो। एस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन।
एस बैंकको एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए। कारोबार रोक्का भएको अवधिमा एस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन।












