गगन थापाले भने, 'कोरोनासँग तर्सिने होइन, सचेत होऔं, तयारी थालाैं'
काठमाडौं, फागुन २३ : कोरोना भाइरसबारे प्रतिनिधिसभामा छलफल सुरू भएको छ। सांसद गगन थापाले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरू भएको हो।<....

काठमाडौं, फागुन २३ : कोरोना भाइरसबारे प्रतिनिधिसभामा छलफल सुरू भएको छ। सांसद गगन थापाले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरू भएको हो।
संसद्मा कोरोना भाइरसबारे सार्वजनिक महत्वको प्रस्तावमा प्रस्तुत गर्दै थापाले यसबारे सरकारले जानकारी दिनुपर्ने बताए। उनले अहिलेसम्म भएको तयारीबारे सरकारले सदनलाई जानकारी गराउन माग गरे।
नेपालको भौगोलिक अवस्थाले मात्रै नभएर संक्रमणसँग जुध्ने क्षमतालाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमपूर्ण देशमा राखेको स्मरण गराए। यसविरुद्ध लड्ने तयारी थाल्नु पर्ने उनले बताए। थापाले भने, ‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन।’
उनले सबैर्ले एकीकृत भएर काम गर्नुपर्ने बताए। यसका लागि सरकारले अग्रसरता लिनुपर्ने वेला आएको उनको भनाइ थियो।
सांसद थापाले राखेको प्रस्तावमाथि सांसदहरू सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा.नारायण खड्काले समर्थ जनाएका थिए।
उनीहरूले पनि सरकारले अहिलेदेखि नै तयारी थाल्नुपर्ने र नागरिकलाई सचेत गराउनुपर्ने बताए।
कोरोना भाइरसबाट शुक्रबारसम्म संसारभर १६ देशमा तीन हजार तीन सय ८३ जनको मृत्यु भएको छ। चीनमा मात्रै तीन हजार ४२ जनाको मृत्यु भएको छ। चीन बाहिर १५ देशमा तीन सय ४१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
इटालीमा एक सय ४८, इरानमा एक सय सात, दक्षिण कोरियामा ४२, जापानमा १२, अमेरिकामा १२, फ्रान्समा सात, स्पेनमा तीन, हङकङ र इराकमा दुई–दुई जनाको मृत्यु भएको छ। त्यस्तै, ताइवान, अस्ट्रेलिया, थाइल्यान्ड, फिलिपिन्स, स्वीट्जरल्यान्ड र बेलायतमा एक–एक जनाको मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमण घटेको छैन। शुक्रबारसम्म ८५ देशमा संक्रमण देखिएको छ। यसबाट ९७ हजार बिरामी परेका छन्।











