Kathmandu Press

ट्रान्सजेन्डरको पीडा : ‘मानसिक रोगी भनी औषधि खुवाइयो’ (भिडियाेसहित)

‘औषधिको फोटो साथीलाई पठाएँ, साथीको बुवा डाक्टर हुनुहुन्थ्यो। निद्रा लाग्ने र विषकै रूपमा काम गरी बिस्तारै शरीर गलाउने औषधि दिइएको रहेछ। स्लो पोइजनकै रूपमा काम गर्ने औषधि भएको थाहा पाएपछि लुकाएर फाल्न थालेँ।’

काठमाडाैं, चैत २२ : ‘तिम्रो स्वर आइमाईको जस्तो छ। तिमी केटी हौ,’ गौरव बस्नेतलाई स्कुलमा शिक्षकले भने। अन्य विद्यार्थीले ताली पिटे। त्यति बेला शिक्षकले गरेको व्यवहार मोनाले अझै बिर्सन सकेकी छैनन्।

छोराको रूपमा जन्मिएकी मोनालाई परिवारले छोराको जस्तै नाम राखिदियो, गौरव। जब उनले आफूलाई चिन्न थालिन्, तब उनले आफ्नो नाम र परिचय बदलिन्। उनले आफूलाई गौरव बस्नेतबाट मोना क्षत्रीका रूपमा चिनाउन थालेको धेरै भएको छैन। योबीचको संघर्ष र कथाव्यथाको शृंखला पनि लामो छ।

मोना २०५६ सालमा हेटौँडा अस्पतालमा छोरा (गौरव)को स्वरूप लिएर जन्मेकी थिइन्। उनको बाल्यकाल छोराकै पहिरन र परिचयमा बित्यो। बुवाको जागिरका कारण विभिन्न स्कुल हुँदै उनले २०७२ मा एसएलसी गरिन्।

Hardik ivf

नेपालगन्जको भेरी विद्या मन्दिर स्कुलमा कक्षा ८ पढ्दा उनले कक्षामा गीत गाएकी थिइन्। त्यतिबेलै हो, उनको केटीको जस्तो स्वरलाई लिएर कक्षामा शिक्षक लगायत विद्यार्थीले खिसिट्युरी गरेको। ‘म त्यतिबेला पुरुषको पहिरनमा थिएँ, मेरो स्वर भने महिलाको जस्तो सुनिन्थ्यो। त्यसैले त्यो दिन लज्जित हुनुपर्‍यो,’ मोना भन्छिन्, ‘शिक्षकले जिस्किएर हो वा मलाई दुःखी बनाउनकै लागि भनेका हुन् भन्ने थाहा भएन तर मेरो मनमा चोट पुग्यो।’

हेटौँडाको स्कुल अफ म्यानेजमेन्टमा ‘प्लस टु’ गर्दै गर्दा उनले आफू गे भएको थाहा पाइसकेकी थिइन्। उनी भन्छिन्, ‘मैले एकपटक परिवारमा भनेकी थिएँ– म केटीको पहिरन लगाउन र कपाल पाल्न चाहन्छु। तर घरमा सबैले अस्वीकार गर्नुभयो।’

परिवारले आफूलाई नबुझेपछि उनले बाहिर अरुले देख्ने गरी त पुरुषकै पहिरन लगाएर पुरुषकै परिचय दिइन्, तर उनीभित्र महिलाका गुण विकसित हुँदै गए। उनले कपाल पाल्न थालिन्। ‘लुकी–छुपी नङमा पालिस, ओठमा लिपिस्टिक, कुर्था–सुरुवाल र सारी लगाउने गर्थें,’ मोना भन्छिन्, ‘उमेर बढ्दै जाँदा केटीको पहिरनमा सजिन मन लाग्थ्यो।’

उनको व्यवहारले घरमा सबै दिक्क हुन थाले। परिवारले नै आफूलाई छक्का भन्दै गाली गरेको उनी बताउँछिन्। ‘बिस्तारै ट्रान्सजेन्डर (पारलिंगी) को विषयमा बुझ्न थालेँ,’ उनी भन्छिन्, ‘११ र १२ कक्षा अध्ययन गर्ने बेला म ट्रान्सजेन्डरकै रूपमा रहेर पढेँ।’

कलेजमा पनि आफूलाई साथीभाइले ‘छक्का’ भनी हैरान पारेको उनी बताउँछिन्। तर तिरस्कार, हिंसा र पीडा सहेरै उनले अध्ययनलाई अगाडि बढाउँदै थिइन्, मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा पढ्दै गर्दा उनले परिवारसँग लड्न सकिनन्। आफूले महिलाको पहिरन लगाएको र स्वभाव देखाएको परिवारले मन नपराएको उनी दुखेसो पोख्छिन्। ‘स्नातक पहिलो वर्षको परीक्षा दिएपछि पढाइ छाडेर घरमै बस्न थालेँ। घरमा बस्दा छोरीकै पहिरनमा हुन्थेँ। मेरो विद्रोह देखेर परिवारले मलाई हेला गर्न थाल्यो,’ उनी भन्छिन्, ‘घरमा पाहुना आएका बेला म आफ्नो कोठाबाट बाहिर निस्कन्नथेँ। आफन्तले तँ पहिला यस्तो थिइस्, अहिले यस्तो भइछस् भनेको सुन्न मन पर्दैनथ्यो। त्यसपछि मानसिक सन्तुलन बिग्रिएको भन्दै मलाई परिवारले काठमाडौं, चितवनका विभिन्न अस्पताल पु¥याए।’

दुई–तीन वर्षअगाडि वीर अस्पतालमा उनको पूरै शरीरको परीक्षण भयो। ‘त्यतिबेला म पुरुष नै भएको अस्पतालले प्रमाणित गरिदियो,’ मोना गुनासो गर्छिन्, ‘मैले स्पष्ट भन्दा पनि डाक्टरले मलाई तिमी छोरा नै हौ भन्यो। त्यसपछि घरका सबैले भएर बस्न मलाई दबाब दिन थाले। महिलाको पहिरनमा मलाई घरबाट बाहिर निस्किन दिइएन। घरमा पनि पुरुषकै पहिरनमा बस्न बाध्य पारियो।’

यसपछि मानसिक रोग लागेको शंका गर्दै उनलाई परिवारले चितवन मेडिकल कलेज पु¥यायो। ‘त्यहाँ मलाई मानसिक रोगी भएको भन्दै स्लिपिङ ट्याब्लेट र अन्य औषधि दिइयो। ती औषधि खाएपछि म अझ पीडित भएँ। रिसाउने, झर्किएर बोल्ने लक्षण देखाप¥यो,’ उनी भन्छिन्, ‘तीन–चार महिना औषधि खाएपछि औषधिको फोटो साथीलाई पठाएँ, साथीको बुवा डाक्टर हुनुहुन्थ्यो। निद्रा लाग्ने र विषकै रूपमा काम गरी बिस्तारै शरीर गलाउने औषधि दिइएको रहेछ। स्लो पोइजनकै रूपमा काम गर्ने औषधि भएको थाहा पाएपछि लुकाएर फालिदिन थालेँ।’

महिला हुँदा आत्मविश्वास बढ्यो

पुरुष हुन उनलाई परिवारले दबाब दिइरह्यो, तर उनले आफ्नो महिलाको स्वभावलाई लुकाइराख्न सकिनन्। लुकिछिपी भए पनि उनले महिलाको पहिरन लगाउँथिन्। ‘घरबाट पुरुषको पहिरनमा निस्कन्थेँ, साथीहरूको घरमा पुगेर महिलाको ड्रेस चेन्ज गर्थें,’ मोना भन्छिन्, ‘एक महिनाअगाडि साथीको घरमा थिएँ, ममीले घर आइज, नत्र हातखुट्टा भाँचेर राखिदिन्छु भन्दै फोन गर्नुभयो। त्यसको केही छिनमा ममीसँग पाँच–सातजना पुरुष आए। एकछिन अगाडि ममीले हातखुट्टा भाँच्ने भनेकाले ममीसँग पुरुषहरुलाई देखेपछि म डराएँ, ममाथि हातपात गरियो।’

त्यसपछि उनले हेटौँडामा पारलिंगीको विषयमा काम गर्ने संस्थाका व्यक्तिलाई फोन गरिन्। परिवारसँग सम्बन्ध बिग्रिएपछि अहिले उनी काठमाडौं आएर सुकेधारास्थित आफन्तको घरमा बस्न थालेकी छन्। ‘काठमाडौंमा जिउनका लागि अझ मुस्किल रहेछ, त्यसैले रोजगारी खोजिरहेकी छुँ,’ उनले भनिन्, ‘म गाउँमा छोरा भएर भन्दा अहिले छोरी भएर बाँच्न पाएकामा आत्मविश्वास बढेको छ।’

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्